एकीकृत कार्यालय व्यवस्थापन प्रणाली

सरकारी निकायबाट सम्पादन हुने कार्यहरुलाई एउटै सूचना प्रविधि प्रणाली मार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कको एक पहलका रुपमा सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकिकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइएको हो ।

यो प्रणाली प्रयोग गरि सरकारी निकायहरुले विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य गर्न सक्नेछन् । सरकारी निकायले यस प्रणाली मार्फत उल्लेखित कार्य सम्पादन गर्दा विद्युतीय हस्ताक्षर प्रयोग गर्न सक्छन् ।

यस प्रणालीको व्यवस्थित सञ्चालनका लागि नेपाल सरकार (मन्त्रीपरिषद)बाट "सरकारी निकाय सञ्चालन सम्बन्धी एकीकृत विद्युतीय प्रणाली निर्देशिका, २०७८" स्वीकृती भई मिति २०७९/०१/०५ गते राजपत्रमा प्रकाशित पश्चात कार्यान्वयनको अवस्थामा छ

आ.व. २०७८/७९ देखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका सबै विभागहरुमा उल्लेखित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) कार्यान्वयनमा रहेकोमा विभागद्वारा उपलब्ध गराइने तालिम लिई आ.व.२०७९/८० देखि सिंहदरबार भित्रका मन्त्रालयहरु लगायत अन्य सरकारी निकायहरु यस प्रणालीमा आबद्ध हुने क्रम जारी छ ।

सरकारी निकायहरुले यो प्रणालीमा आबद्ध भई कार्य संचालन गर्न सूचना प्रविधि विभागमा पत्राचार गर्नु पर्नेछ ।